`

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छः प्रचण्ड

Nepal One HD १९ असार २०८२ १६:५५
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकार्पण कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीलाई अनुकूल बनाउन संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले माओवादीले युद्धकालीन समयमा भन्ने गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको अभ्यास अहिले नेपालमा भइरहेको बताए ।

उनले भने, ‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भइरहेका छेडखानीहरू त्यो त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाइएको छ भित्रभित्रै कुकुरको मासु बेचिइरहेको छ ।’

प्रचण्डले आफ्नो नेतृत्वमा प्रत्येक पटक सरकार बन्दा समाजवादतर्फ देशलाई लैजान बल गरेको भन्दै बुद्धिजीवीले त्यस कुरालाई बुझ्न नसकेको बताए । उनले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताए ।

उनले भने, ‘भन्दा समाजवाद माक्र्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति निकै हाबी भएको अवस्था छ । समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन र राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति हाबी छ ।’

उनले समाजवाद तत्काल कायम हुन सक्ने अवस्था नभएरै संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *