ट्रम्पको ‘बिग ब्युटिफुल’ विधेयक पारित


बीबीसी । अमेरिकी कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको छ । क्यापिटल हिलमा भएको रस्साकस्सीपश्चात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई बिहीवार पारित गरेको हो ।
उक्त विधेयकको पक्षमा २१८ अनि विपक्षमा २१४ मत परेको थियो । मङ्गलबार माथिल्लो सदन सिनेटले जम्मा १ मतको अन्तरले उक्त विधेयक पारित गरेको थियो ।
ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई जुलाई ४ तारिखभित्र सो विधेयक पारित गरेर अन्तिम अनुमोदनका निम्ति उनीकहाँ पठाइसक्न समयसीमा दिएका थिए । कङ्ग्रेसनल बजेट कार्यालयको अनुमानमा सो विधेयकले आगामी १० वर्षमा सङ्घीय वित्तीय घाटामा ३३ खर्ब डलर थप्ने छ भने दशौँ लाख मानिसको स्वास्थ्य बीमा गुम्ने छ – तर ह्वाइट हाउसले ती अनुमानलाई अस्वीकार गरेको छ ।
बिहीवार साँझ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नयाँ कानुनले देशलाई ‘रकेट यानमा परिणत गर्ने’ बताए । देशका निम्ति यो महान् कानुन हुने छ,’ उनले भने ।
जुलाई ४ को स्वतन्त्रता दिवसको समारोहका बेला विधेयकमा उनले हस्ताक्षर गर्ने ठानिएको छ। त्यसपछि सो विधेयक औपचारिक कानुन बन्ने छ । कानुन पास भएपछि रिपब्लिकन सभामुख माइक जोन्सनले उनको पार्टीभित्र सबैलाई मनाउन ‘विश्वास’ नै मुख्य कुरा भएको बताए ।
उक्त विधेयकमा खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनाहरूलाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ । साथै त्यसले चुनावताका ट्रम्पले गरेका दुई वटा मुख्य वाचा पनि पूरा गर्ने छ ।
उनले सन् २०१७ मा गरेका कर कटौतीहरूलाई स्थायी स्वरूप दिने अनि टिप्स, ओभरटाइम र सोसल सेक्युरिटी प्राप्तिकर्तामा लाग्ने कर हटाउने – जसको मूल्य १० वर्षमा ४५ खर्ब डलर हुने अनुमान छ ।
त्यस्तै सिमाना सुरक्षा, हिरासत केन्द्र तथा आप्रवासन कानुन कार्यान्वयन अधिकारीहरूमा १५० अर्ब डलर खर्च गरिने छ।
अर्को १५० अर्ब डलर ट्रम्पले अघि सारेको ‘गोल्ड डोम’ क्षेप्यास्त्र प्रतिरक्षा कार्यक्रम लगायतका सैन्य खर्चमा लगाइने छ। सदनमा मतदान हुँदा प्रक्रियागत अवरोधहरू गर्ने कोसिस गर्दै डेमोक्र्याटहरूले विधेयकप्रति विरोध जनाएका थिए ।