`

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता(सूचीसहित)

Nepal One HD २४ असार २०८२ १२:२२
प्रमुख खबर

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी रहेको बताए ।

यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए ।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका तीन कर्मचारी छन् । सम्पर्कविहीन हुनेमा टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ बस्ने का ४२ वर्षका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २४ का मुन्ना ठाकुर  र लाङटाङ रसुवा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नम्बर ९ का २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।

त्यस्तै, ६ जना चिनियाँ नागरिक रहेका छन् । त्यस्तै, बर्दियाका वर्ष ३६ का जिपन चौधरी, वर्ष ३५ का सन्तोष दहीत, वर्ष २५ का बुद्धिराम थारु, वर्ष २४ का लक्ष्मीनारायण थारु, वर्ष ३० का सुरेश थारु, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् । उनीहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *