राम्रोसँग कान खोलेर सुन्नुहोस् भन्दै सोविता गौतमले दिइन् प्रधानमन्त्रीको सचिवालयलाई यस्तो जवाफ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मंगलबारको प्रतिनिधिसभा बैठकको आफ्नो अभिव्यक्ति विवादमा परेपछि त्यसलाई स्पष्ट पारेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले आफनो अभिव्यक्तिलाई विवादित पार्न खोजिएको भन्दै आपत्ति जनाइन् । सांसद गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताइन् ।
गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो । १०औं हजार मानिसहरु सहभागी हुने कार्यक्रम हो । नेपालबाट सयौं मानिसहरु सहभागी हुन गएको पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो । फेक डकुमेन्ट बनाएर भिसा लगाएको पनि साँचो हो । सांसद महोदयहरूलाई नेपाली भाषा बुझ्न समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्छ भन्ने त भएन नि ।’
उनले संसदमा उठाएको विषय हटाउन माग आएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको सचिवालयबाट चुनौति आएको भन्दै जवाफसमेत दिइन् ।
उनले भनिन्, ‘रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्याउँछु– स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’
सांसद गौतमले आफ्नो भनाइलाई गलत रूपमा अथ्र्याइएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूले भनेको विषयप्रति कुनै भ्रम छैन भन्दै चुनौती दिनेहरूप्रति संकेत गर्दै थपिन्, ‘जसलाई समस्या छ, उसैको उपचार गरियोस्। मैले भनेको कुरा स्पष्ट छ र त्यसमा म अडिग छु ।’