`

नैतिकताको पाठ नसिकाउन रास्वपालाई गृहमन्त्रीको चेतावनी

Nepal One HD २५ असार २०८२ १५:०२
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले पछिल्लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाएका हुन् । उनले भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेको र त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको बताए ।

उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित भएर बोल्न सांसदहरुलाई आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डल मन्त्रिपरिषद्को निर्णयपछि मात्रै जान्छ र त्यसपछि सार्वजनिक हुन्छ । त्यसैले म माननीय सदस्य साथीहरुलाई आग्रह गर्न चाहन्छु, को को जानुभयो ? को फर्किनुभयो ? स्पष्ट जानकारी दिए सरकारलाई सजिलो हुन्थ्यो ।’

गृहमन्त्रीले संसदमा जिम्मेवार ढंगले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । उनले कल्पनामा, अनुमानमा, असत्य पुलिन्दा बाँधेर कहीँ नपुगिने बताए ।

गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय स्पष्ट पार्न रास्वपालाई आग्रह गरे ।

उनले भने, ‘माननीय रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थ्यो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन ? भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

गृहममन्त्रीले भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे । उनले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन आवश्यक नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *