`

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

Nepal One HD २७ असार २०८२ १८:५५
प्रमुख खबर

गलकोट (बागलुङ), २७ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताउनुभएको छ ।

बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका निष्ठावान नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा आज कांगे्रसले यहाँ आयोजना गरेको श्रद्धाञ्जलीसभामा उहाँले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान र इमान्दार नेताका रूपमा रहनुभएको उल्लेख गर्नुभयो ।

“उहाँ संसाद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ”, देउवाले भन्नुभयो, “देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।” उहाँले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारीमा रहनुभएका उहाँको निधन भएको थियो ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रूपमा परिचित हुनुहुन्थ्यो ।

बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हुनुहुन्थ्यो । विसं २०४६ आन्दोलनका क्रममा जेल पर्नुभएका उहाँ बहुदलपछि जिल्ला सभापति र सांसद बन्नुभएको थियो । उहाँ विसं १९९५ पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *