भानुभक्तको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउनुपर्छः सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले भानुभक्तको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण नगरी उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्वसाहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्ने धारणा राखे ।
उनले भानुजयन्ती केवल जन्मजयन्ती नभई, नेपाली भाषाको गौरव गाउने एउटा महान दिन भएको बताए । सभामुख घिमिरेले भानुजयन्ती भाषासँगको सम्बन्धको, संस्कृति र पहिचानको महान चाड भएको भन्दै यसको महत्वलाई अझ गहिरो रुपमा बुझ्नुपर्ने बताए ।
उनले भने,’भानुजयन्ती केवल जन्मजयन्ती होइन्,नेपाली भाषाको गौरव गाउँने एउटा महान दिन हो । भानुजयन्ती सबैभन्दा ठूलो चाड मानिन्छ किनकी त्यो चाड भाषासँगको सम्बन्धको,संस्कृति र पहिचानको महान चाड हो । त्यसैले यसलाई आजको दिनमा यसको महत्वलाई अझ गहिरो रुपमा लिनुपर्छ ।’
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ । कार्यक्रममा भानुको सालिकमा माल्यार्पण गरिएको थियो ।