नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुने सोच नराख्दा हुन्छः नेता थापा


काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टी महासचिव शंकर पोखरेलले पार्टीलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका छन् ।
आइतबार सामाजिक संजालमार्फत नेता थापाले महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भन्ने भाव नराख्ने चेतावनी दिएका छन् । उनले नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको त्यसबाट मुक्त हुन समेत उनले आग्रह गरेका छन् ।
थापाले भनेका छन्, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लगतैदेखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको वचनका लागि मात्रै प्रसंसाको झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकवच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु । कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिइनेछ । सम्पूर्ण एमाले पंक्तिलाई सही कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलौजमा नउत्रन निवेदन गर्दछु ।’