सदन स्थगित गरेर रास्वपा र राप्रपालाई सदनमा ल्याउन सत्ता र विपक्षी दलको एकमत


काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गतेदेखि लगातार सदनमा अवरोध जारी राखेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सदनमा निरन्तर सहभागिता जनाउने वातावरण बनाउन सभामुखलाई आग्रह गरेको छ।
सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदन स्थगित गरेर संसद्मा भाग लिने वातावरण बनाउन आग्रह गरेका हुन्।
‘अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसदको चौथो र पाँचौं राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दु:खद छ । म सरकार, सत्तापक्षमा रहेका राजनीतिक शक्तिहरू, प्रमुख प्रतिपक्षी तथा संसदको नियमित छलफलमा सहभागी नभएका राजनीतिक दलहरूलाई पुन एकपटक वार्ता र संवादमा बस्न अपिल गर्दछु । आवश्यक व्यवस्थापन तथा सहजीकरणका लागि सभामुखको तर्फबाट मेरो पहलकदमी रहनेछ ।’
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा नआएको बताए । अब केही समय संसद स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरी संसदमा भाग लिने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । कांग्रेस आवश्यक सहजीकरणका लागि तयार रहेको घिमिरेले बताए ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले दुई साता बैठक रोकेर दलहरूबीच साझा सहमति गरेर अघि बढ्नुपर्ने औंल्याए ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अवरोधका बीच सदन अघि बढाउँदा सन्देश राम्रो नगएको भन्दै महत्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिए । परियारले आफ्नो पार्टी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनसहितको माग राखेर निरन्तर आन्दोलनमै रहेको बताए।
राप्रपाका ज्ञानबहादुर शाहीले बजेट पास अत्यावश्यक भए पनि नियमित बैठक चौथो र पाँचौ ठूलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो नभएको टिप्पणी गरे ।
बैठकमा एमालेबाट सचेतक सुनिता बराल उपस्थित थिइन् । बैठकले साउन १५ गतेसम्मको क्यालेन्डरमा सहमति गरेको छ । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरू सदनमा सहभागी नभएको विषयमा ध्यानाकर्षण भएको बताएका छन्।