प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : फ्लडलाइट हेर्न कीर्तिपुर जानुस्, बनिरहेको छ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फ्ल्डलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।
सोमबार प्रचण्डले संसदमा सम्बोधन गर्दै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति भइरहेको ढिलाइप्रति प्रश्न उठाएका थिए ।सो प्रश्नको जवाफ प्रधानमन्त्ती ओलीले सामाजिक सञ्जाल फेसबुकबाटै दिएका हुन् ।
दाहालले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाईघ प्रश्न गरेका थिए । आफ्नो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरेको प्रचण्डले बताएका थिए । ३ सय ६५ दिन बितिसक्दासमेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाएका थिए ।उनले भनेका थिए, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’
ओलीले जवाफमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
त्यस्तै आफू प्रधानमन्त्री हुँदा प्रचण्डले कुनै पनि टाइमलाइन नतोकेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ उनले भनेका छन् ।