सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएका हुन् ।
हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो राज्यले कसैमाथि यसरी प्रतिशोध साँध्न हुँदैन । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भनेर आफ्नो विचार राख्दै आएका छौँ ।’
त्यस्तै उनले हाम्रो व्यवस्थामा कार्यापालिकाको हस्तक्षेप न्यायपालिकामा स्वभाविक भएको बताए । ‘नेपालमा राजनीतिक व्यवस्था त्यति परिपक्क छैन र शक्ति पृथकिकरण राम्रोसँग हुन सकेको छैन । यहाँ कार्यपालिका, न्यायपालिका पृथक हो भनेर हेर्न पाइदैन ।’ उनले भने, ‘अहिलेको हाम्रो व्यवस्थामा न्यायाधीशहरुको नियुक्ति कार्यपालिकाले नै एकहिसावले प्रभावित गर्ने भएर गर्ने भएकाले हामीकहाँ झनै हेर्न पाइदैन । त्यही भएर अदालतलाई प्रभावित गर्ने, न्यायलयको निर्णयमा प्रभावित हुने स्वभाविक देखिन्छ ।’
सोमबार रास्वपाको पार्टी कार्यालयमै उपस्थित भएर उनले हस्ताक्षर गरेका हुन् ।
रास्वपाले सभापतिमाथि राज्यले प्रतिशोध साँधेको भन्दै असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेका छन् ।
आजै बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि रास्वपाको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।