मन्त्री गुप्ताले राजीनामा दिदै भने- कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे सोधपुछ गर्दै २४ घण्टाभित्र राजीनामा गर्न निर्देशन दिएका थिए ।
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले बताएका छन् ।
राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिरसहित अरु कोही नबनुन् भनेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “विगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिवद्दताकाे साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”