भूमि मन्त्रीको स्पष्टीकरण: मेरो स्वर भएको अडियो आयो भने सजाय भोग्न तयार छु


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडिओबारे प्रष्टीकरण दिए।
अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे।
‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ मन्त्री अधिकारीले भने ।
उनले आफ्नो परिवारका सदस्य समेत जोडेर चरित्र हत्या गरएको उनले गुनासो गरे । मन्त्री अधिकारीले भने, ‘केही दिन यता मसँग जोडिएको केही कुरा आएको छ । मसँग जोडेर अडियो आएको भनिएको छ । उक्त अडियोमा आएका व्यक्तिहरू मसँग र मेरो मन्त्रालयसँग सम्बन्धित छैन । मन्त्रीमात्रै भनेर होइन यसमा मेरो छोरालाई पनि जोडियो । मेरो छोराको यिनीहरूसँग भेटेकै छैन।’
आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरेका छन् ।