गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन


चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। भरतपुर महानगरपालिका–२६ निवासी गुरुङn] नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।
विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै थिए । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा विदेशमा भएकाले आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।
उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती छन् ।