काभ्रेमा भएका दुई घटनामा २ जनाको मृत्यु


काभ्रेपलान्चोक । धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोसी नदीमा भेटिएको हो ।
भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोसी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलान्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टङ्कप्रसाद तिमल्सिना आज बिहान स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । तिमल्सिना सवार बा प्र ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नपा–२ स्थित बीस किलो भन्ने स्थानमा बा ६२ प ३५७८ नम्बरको अर्को स्कुटरले ठक्कर दिँदा स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले धुलिखेल अस्पतालमा शल्यक्रियासहितको उपचार भइरहेको छ ।
तिमल्सिना सवार स्कुटर चालक उनकै छोरा किशोर सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । नार्केबाट काठमाडौँतर्फ जाँदै गरेको ठक्कर दिने स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रेपलान्चोकको रोशी गाउँपालिका–८ बस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।