नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व फेरिएसँगै नयाँ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको दर्ज्यानी चिह्न प्रदान गर्ने समारोह पनि चर्चामा आएको छ ।
विगतमा गृहसचिवले आईजीपीलाई फुली लगाइदिने परम्परा रहे पनि यसपटक गृहमन्त्री सुधन गुरुङ आफैंले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
प्रहरी नेतृत्व परिवर्तनको निर्णयसँगै भएको यो दृश्यले सरकारको प्राथमिकता र प्रहरी संगठनमा आएको नयाँ समीकरणबारे पनि चासो बढाएको छ । मन्त्रिपरिषद्ले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएपछि केसी प्रहरी प्रमुख बनेका हुन् ।
केसी र कार्की एउटै ब्याचका अधिकृत हुन् । चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनीहरूबीच यसअघि पनि आईजीपी बन्न प्रतिस्पर्धा भएको थियो । कार्की आईजीपी नियुक्त हुँदा राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाहसमेत प्रहरी नेतृत्वको दौडमा थिए ।
नवनियुक्त आईजीपी केसीको प्रहरी सेवामा केही चर्चित अनुसन्धानको अनुभव छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए । लामो समयदेखि अलपत्र परेको जाहेरीमाथि अनुसन्धान अघि बढाउँदै २०७९ चैत १२ गते केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरिएको थियो । त्यसपछि अनुसन्धानको दायरा विस्तार हुँदै पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसम्म पुगेको थियो ।
त्यतिबेला एसएसपी रहेका केसीकै नेतृत्वको टोली बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको निवास पुगेको थियो । यही प्रकरणपछि कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट रहेको र कांग्रेस सरकारमा रहँदा उनले महत्त्वपूर्ण जिम्मेवारी नपाएको चर्चा प्रहरी वृत्तमा हुँदै आएको थियो ।
भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु भएका बेला २०८० भदौ ४ गते तत्कालीन सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा पुगेका थिए ।
यसअघि २०८२ असोज ५ गते उनलाई प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको थियो । सीआईबीपछि अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका केसी अहिले प्रहरी संगठनकै सर्वोच्च पदमा पुगेका छन् ।










