`

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

Nepal One HD ११ साउन २०८२ १८:५४
प्रमुख खबर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीको समीक्षा गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता सिटौलाले संविधानको दिगोपनाका लागि समय सापेक्ष संशोधन हुनुपर्ने उल्लेख गर्दै दुवै सदनमा सरकारको दुई तिहाइ बहुमत नभएकाले सहमति जुटाएर संशोधन गर्न सकिने धारणा व्यक्त गरे ।

संविधान संशोधनका लागि सरकारले संयोजन गर्नुपर्ने र सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाए ।

फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेसले १५औँ महाधिवेशन २०८३ को मङ्सिरसम्म हुने बताए । उनले भने, ‘पार्टीको चार वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने भए पनि एक वर्ष थप्न सकिने विधानको प्रावधान छ । कांग्रेसको महाधिवेशन प्रायः चार वर्षमा कहिल्यै भएको छैन ।’

पार्टीको क्रियाशील सदस्यताको टुङ्गो नलागेको अवस्थामा यस वर्ष महाधिवेशन हुन सम्भव नरहेको उनको भनाइ थियो ।

वर्तमान सरकारले एक वर्षको अवधिमा जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै नेता सिटौलाले सत्ता गठबन्धन र सरकार भने निरन्तर जाने तथा पूरै कार्यकाल रहने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *