`

एकासी वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

Nepal One HD १७ साउन २०८२ १२:२२
समाचार

उदयपुर। उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया राईले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छिन् । उनलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

चौदण्डी गढी नगरपालिका– १ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेकी हुन् ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकी वृद्धा राईको चौदण्डी गढी नगरपालिका– १ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमानको मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या भएको थियो ।

बुढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए पनि आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएकी थिइन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार चौदण्डी गढी– १ का वडा प्रतिनिधिहरूको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब उनले सामाजिक सुरक्षा भत्ताको लागि पनि तत्कालै पहल र राष्ट्रिय परिचयपत्रको नम्बर पनि व्यवस्था गरिएको प्रजिअ लुइँटेलले बताए ।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद भएको प्रजिअ लुइँटेलले बताए । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौदण्डी गढी– १ का वडाध्यक्ष राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *