`

छायाँनाथ धामको तीर्थयात्रा सुरू

Nepal One HD १७ साउन २०८२ १३:२५
अध्यात्म

मुगु । हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ । सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो ।

यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ । मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा  छायाँनाथ मन्दिर परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका–१ छायाँक्षेत्र चार हजार ५०० मिटरको उचाइमा छ । यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु दर्शन गर्न आउने गर्दछन् ।  सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए ।

शिवजीको मूर्ति (गाथ) सहित पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिए । उनका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति विसं १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं, उपाध्यायले मूर्ति स्थापना गरेका हुन् ।

हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने हुँदा तत्कालीन समयमा ब्राह्मणको बासस्थान रहेको गमदराको चैन गाउँमा छायाँक्षेत्र मन्दिर स्थापना गरी ११ महिना त्यहीँ पूजा गर्ने र साउन महिनामा गाथसहित छायाँक्षेत्र धाममा पुगी पूजाआजा गर्ने परम्परा सुरु भएको बताइन्छ ।

यहाँ सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट स्थानीय र भारतको उत्तराखण्ड, हिमाञ्चल, कुमाउँ क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् । छायाँनाथमा नयाँ धामीको अवतार गर्न, छापविदो लिन, व्रतबन्ध गर्न, पितृहरुको मोक्क्ष गर्न, वर माग्न र आफ्ना कुलदेवता, इष्ट देउताको शुद्धिका लागि भक्तजन तथा श्रद्धालु आफ्ना धामीझाँक्री र देउतासहित पुग्ने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *