फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी


चितवन, १८ साउनः बिभिन्न अपराधिक कार्यमा संलग्न रही फरार एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो । ती मुद्दामा एक हजार ८९२ जना अभियुक्त रहेका छन् । उहाँका अनुसार यस वर्ष परेका मुद्दामा एक हजार ६९६ जना पुरुष, एक सय ७१ महिला र समलिङ्गी एक जना संलग्न रहेका छन् । तीमध्ये विदेशी नागरिक २४ जना रहेका छन् । तेइस जना पुरुष र एक महिला विदेशी रहेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, अभद्र व्यवहार, आत्महत्या, चोरी, जुवा, ठगी, विद्युतीय अपराध, बैंकिङ कसुर रहेका छन् ।
कार्यालयले फैसला कार्यान्वयनतर्फ गत आवमा पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । उनीहरूबाट एक सय २७ वर्ष छ महिना तीन दिन कैद र रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वयनका लागि एक हजार ८०७ जना पक्राउ गरी कानुनी दायरामा ल्याउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
माछा मार्ने क्रममा बेपत्ता
माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२३ केरुङ्गा खोलामा माछा मार्न गएका स्थानीय ५० वर्षीय भीमबहादुर दराई बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार साँझ माछा मार्न गएका उनी खोलामा बेपत्ता भएका हुन् । बेपत्ता दराईको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।