पृथ्वीमानले पुर्याएको योगदान महत्वपूर्ण छः सभापति देउवा


चितवन, १८ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताउनुभएको छ । उहाँको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरुङको निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले गुरुङ निष्ठावान् नेता भएको बताउनुभयो ।
गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरुङले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ मेरो पुरानो साथी हो । उहाँले छोडेर गएका काम हामी सबै मिलेर गर्नुपर्छ ।” जिल्लामा गुरुङले पु¥याएको योगदान महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो ।
सो अवसरमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजनैतिक यात्रा सुरु गर्दै गर्दा विश्वेश्वरप्रसाद कोइरालाले गुरुङजस्ता युवा आफूहरुसँग भएको भन्दै तारिफ गरेको स्मरण गर्नुभयो । अबको निर्वाचनमा गठबन्धन नहुने भन्दै उहाँले सबै क्षेत्रमा कांग्रेसले जित हासिल गरेर गुरुङप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले मृत्युपछि परिचय हुने गरेको भन्दै पृथ्वीमानको इतिहास लिपिबद्ध गराउन आग्रह गर्नुभयो । कांग्रेस नेता मीन विश्वकर्माले गुरुङसँग कांग्रेसको निष्ठावान् चित्र र चरित्र रहेको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक वर्ष आफूले सँगै काम गरेको स्मरण गर्दै गुरुङले आफूलाई नेता–कार्यकर्ताको शिर झुकाउन नपर्नेगरी काम गर्न सुझाव दिने गरेको बताउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्वसभापति गुरुङको निधनपछि पार्टीले उहाँलाई योगदानको उच्च सम्मान व्यक्त गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । गुरुङको यही साउन १० गते निधन भएको थियो ।