‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पारित


काठमाडौँ, १९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधान माथि सदनमा छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावमाथिको छलफलपछि उक्त सम्झौतालाई अनुमोदन गरिएको हो ।
छलफलमा सांसद रमा कोइराला पौड्याल, हेमराज राई, हितराज पाण्डे, प्रेम सुवाल सहभागी हुनुभयो । मन्त्री भण्डारीले एक बहुपक्षीय सम्झौता भएको र कार्यान्वयन भएको खण्डमा विश्व व्यापार सङ्गठनसँग नेपालका थप माग र मुद्दाले प्राथमिकता पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हालसम्म १०६ वटा राष्ट्रले समर्थन जनाइसकेका छन् । यो सम्झौताले मुलुकलाई लाभ नै प्राप्त हुन्छ । यसको सान्दर्भिकता र महत्व छ । भूपरिवेष्ठित राष्ट्र हौँ तर समुद्रमा नेपालको पनि अधिकार छ । सम्झौताले नेपालमा उत्पादित माछाले बजार पाउँछन् ।”
प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते दिउँसो १ बजे बस्नेछ ।