माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छः उपाध्यक्ष भुसाल


ललितपुर, २३ साउनः नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पार्टीद्वारा आज आयोजित जिल्ला भेला एवं तीज विशेष कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न माओवादी नेतृत्व लागेको बताउनुभयो ।
“सुदृढ र एकीकृत पार्टी निर्माण गरेर समाजवादको बाटो निर्माणका लागि हाम्रो पार्टी लागिपरेको छ”, उपाध्यक्ष भुसालले भन्नुभयो, “पार्टीको आगामी बैठक र महाधिवेशनले समाजवादी क्रान्तिको विस्तृत कार्यदिशा तयार गरेर अगाडि बढ्छ । उहाँले केन्द्रदेखि तल्लोतहसम्म पार्टी कार्यकर्ताले निर्णयलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“बिमति र फरक विचारहरू पार्टीमा राख्न पाइन्छ, आफ्ना समितिमा राख्ने छुट छ, तर छरपस्ट रुपमा सार्वजनिक गर्न पाइँदैन, सबै सदस्य एवं नेतृत्वले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पार्टीले गुट र उपगुट सबै खारेज भएको छ ।”
कार्यक्रममा पार्टीका महिला नेतृत्व एवं कार्यकर्ताहरूको उपस्थिति थियो ।