सरकारले पहिलो पटक दियो ‘व्यवसायजन्य रोग’ लाई कानुनी मान्यता


काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न ७० प्रकारका रोगलाई व्यवसायजन्य रोगको सूचीमा समावेश गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
यो निर्णयसँगै अब कार्यस्थलमा हुने जोखिमका कारण कुनै श्रमिकलाई तोकिएका रोगहरू लागेमा त्यसलाई कानुनी रूपमा ‘व्यवसायजन्य रोग’ मानिनेछ र श्रमिकले कानुनबमोजिम उपचार तथा क्षतिपूर्ति पाउने बाटो खुलेको छ ।
सरकारले मान्यता दिएका व्यवसायजन्य रोगहरूलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ ।
१. रासायनिक एजेन्टको कारणले हुने रोगहरू
२. भौतिक एजेन्टको कारणले हुने रोगहरू
३. जैविक एजेन्टको कारणले हुने रोगहरू
४. लक्षित अङ्ग प्रणालीमा असर गर्ने रोगहरू (श्वासप्रश्वास, छाला, मांसपेशी र मानसिक)
५. व्यवसायजन्य क्यान्सर
श्रम ऐन, २०७४ को दफा ८२ मा ‘व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था’ स्पष्ट रूपमा उल्लेख गरिएको छ।
यस दफा अनुसार कुनै प्रतिष्ठानमा काम गर्दा श्रमिकलाई तोकिए बमोजिमको व्यवसायजन्य रोग लागेमा, उक्त प्रतिष्ठानले रोगको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्नेछ।
यदि उक्त रोगको उपचार हुन नसक्ने अवस्था भएमा, प्रतिष्ठानले पीडित श्रमिकलाई तोकिए बमोजिमको क्षतिपूर्ति रकम समेत उपलब्ध गराउनुपर्नेछ।