सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ : उद्योगमन्त्री भण्डारी


काठमाडौँ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिएर सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको बताउनुभएको छ ।
महिला उद्यमी सङ्घ बागमतीको नवनिर्वाचित समितिसँगको अन्तक्र्रियामा उहाँले छिमेकी मुलुकहरूले नेपाली बजारको मागअनुसार वस्तु उत्पादन गर्न सक्ने तर नेपालमा त्यसको कमी देखिएको बताउनुभयो । खुला बजारका कारण आयात रोक्न नसकिए पनि यहाँ उत्पादन गर्न सकिने वस्तु माग धान्न सक्नेगरी उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो ।
मन्त्री भण्डारीले भन्नुभयो, “हाम्रा चाडपर्वमा चाहिने अधिकांश वस्तु छिमेकी मुलुकले उत्पादन गर्छन्, त्यसरी नै हामीले पनि उत्पादन बढाउनुपर्छ । रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, केवल त्यसलाई चिन्नु र उपयोग गर्नुपर्छ ।”
महिला उद्यमीका लागि सरकारले सहुलियतपूर्ण योजनाहरू ल्याएको उल्लेख गर्दै उहाँले कम्पनी वा फर्म दर्ता गर्दा महिलाले शुल्क तिर्न नपर्ने व्यवस्था, स्टार्टअप कर्जा कार्यक्रम र बजेटमा समावेश विभिन्न प्रोत्साहन योजनाहरू जानकारी दिनुभयो । “सबै मन्त्रालयका रेडबुक हेरेर आफ्ना क्षेत्रसँग मिल्ने कार्यक्रम पहिचान गर्नुहोस् र लाभ लिनुहोस्”, उहाँले भन्नुभयो ।
महिला उद्यमी सङ्घका अध्यक्ष शोभा ज्ञवालीले सबै प्रदेशमा सङ्गठन विस्तार गरी उद्यमीहरूलाई एकताबद्ध बनाउने अभियान चलाइरहेको बताउनुभयो । साना तथा मझौला उद्यमीलाई तालिम र प्रविधि प्रदान गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।