विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री ओली


महोत्तरी, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताउनुभएको छ । आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गर्नुभयो ।
“सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् ।” मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम हुलाकी राजमार्गको काम निकै अघि बढेको उल्लेख गर्नुभयो । “पूर्वपश्चिम हुलाकी सडकको काम त सकिएको हुन्थ्यो, तर केही ठाउँका पुलपुलेसा बन्न बाँकी रहेको र केही ठाउँमा आरक्ष क्षेत्र पर्दा केही अल्झेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “सरकार यसलाई चाँडै निक्र्योल गरेरअघि बढ्ने छ ।” यसैगरी पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डअनुसार छ लेनको बनाइन थालिएको उहाँले बताउनुभयो । यस्तै पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक चार लेनका बनेका उहाँले चर्चा गर्नुभयो ।
मधेश यसपालि खडेरीको चपेटामा परेकैबीच आपूm तीन साता पहिले महोत्तरी आएको सम्झना गर्दै त्यतिखेरै सिँचाइ प्रबन्धका लागि ५०० डिपबोरिङ्ग जडानको काम थालिने आपूmले बताएको स्मरण गर्नुभयो । “अब त्योअनुसार डिपबोरिङ्ग धमाधम जडानको चरणमा छन्,” उहाँले भन्नुभयो । कतिपय ठाउँमा डिपबोरिङ्ग जडानसमेत भइसकेका प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले अन्तराष्ट्रिय सम्बन्धहरूको विस्तार र आपसी समन्वयका विषयलाई महत्त्वका साथ अघि बढाएको चर्चा गर्नुभयो । नेपालले यस्ता अन्तरराष्ट्रिय मञ्चमा आफ्ना पक्षका विषयहरू महत्त्वका साथ उठाएको उहाँको भनाइ छ । छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ र विश्वासिलो बनेको उहाँले बताउनुभयो ।
“छिमेकी मुलुकसँगका हाम्रा सम्बन्ध सुमधुर र आपसी हितमा केन्द्रित छन्,” प्रधानमन्त्रीले भन्नुभयो, “यसबीचमा हुने भ्रमणमा नेपालका लागि महत्त्वका विषयमा हामी छिमेकी मित्रराष्ट्रसँग विमर्श गर्छौँ ।” आफूले अबको एक महिनाभित्रै छिमेकी मित्रराष्ट्र चीन र भारतको भ्रमण तालिका बनी सकेको स्पष्ट पार्नुभयो ।
समारोहमा प्रधानमन्त्री ओलीले आम मधेसीलाई शिक्षामा जोड दिन अपिल गर्नुभयो । छोराछोरी सबै विद्यालय जाने र पढ्ने वातावरण निर्माणमा सबैको सहभागिता बढ्न आवश्यक रहेको उहाँको भनाइ छ । “विद्यालयलाई शिक्षा आर्जनको थलो बनाउन सबैले जिम्मेवारीबोध गर्नुप¥यो”, प्रधानमन्त्रीले भन्नुभयो, “यस कार्यमा सबैभन्दा बढी शिक्षकको सकारात्मक भूमिका आवश्यक छ ।” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको असल अभ्यासले नै मुलुक अघि बढ्ने दृढता व्यक्त गर्दै इतिहास बनेको राजतन्त्र अब फर्कने कुरा कसैले सोच्नसम्म बेतुक हुने प्रधानमन्त्रीको भनाइ छ ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो ।