सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।
“यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ ।’’, “कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकामसहित हुम्लामा पिच बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरू अब यथार्थ भइसकेका छन् ।’’
उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाए ।
“मैले पहिला ग्यास र खानीको उत्खनन्काे कुरा गर्दा उडाउनेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन् तर कर्णाली त्यतिसारो वैगुनी हुन सक्दैन । अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौँ,’’उनले भने, ‘‘निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दै छ । कर्णाली बन्छ, बन्दै छ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।’’