वैकल्पिक विकास विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित


काठमाडौँ, ६ भदौ : वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ सङ्घीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधार विकासका लागि अर्को ढोका खोल्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले समेत नवीन अवधारणा भएको उल्लेख गर्दै विधेयकको प्रशंसा गरेका थिए । संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमासभामा पेस गरिएको थियो । वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।