जापानमा चुनावी हारपछि प्रधानमन्त्री इशिबाको पुनरागमन

विश्व

जापानका प्रधानमन्त्री शिगेरु इशिबाको लोकप्रियता फेरि बढेको छ । एक महिनाअघि भएको चुनावी पराजयले उनको पद सङ्कटमा परे पनि सोमबार सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले उनको समर्थन दर बढ्दै गएको देखाएका छन् ।
गत वर्ष लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व लिएका इशिबाले जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा संसद्को दुवै सदनमा बहुमत गुमाएका थिए । तर स्व–घोषित रक्षा नीति विशेषज्ञ एवं मोडेल जहाज निर्माणप्रति रुचि राख्ने इशिबाले पार्टीभित्रैबाट आएको राजीनामा मागलाई बेवास्ता गरेका छन्। एलडिपीले सन् १९५० को दशकदेखि लगभग निरन्तर रूपमा जापान शासन गर्दै आएको छ ।
योमिउरी सिम्बुनले सोमबार प्रकाशित गरेको सर्वेक्षणअनुसार इशिबाको मन्त्रिमण्डलको स्वीकृति दर ३९ प्रतिशत पुगेको छ । यो जुलाई २० को निर्वाचनपछि १७ अङ्कले वृद्धि भएको हो । सोही सर्वेक्षणमा उत्तरदातामध्ये ५० प्रतिशतले इशिबाले पदमा रहनुपर्ने बताएका छन् भने ४२ प्रतिशतले राजीनामा दिनुपर्ने मत दिएका छन् । जुलाईमा भने उल्टो परिणाम आएको थियो—५४ प्रतिशतले राजीनामा दिनुपर्ने र ३५ प्रतिशतले बसिरहनुपर्ने बताएका थिए ।
क्योदो न्युजको अर्को सर्वेक्षणले पनि समर्थन दर ३५ दशमलव चार प्रतिशत देखाएको छ । यो गत महिनाको तुलनामा १२ दशमलव पाँच अङ्क बढी हो । अस्वीकृति दर भने अझै उच्च रहँदै ४९ दशमलव आठ प्रतिशत रहेको छ । मैनिची सिम्बुनको तेस्रो सर्वेक्षणमा पनि समर्थन दर चार अङ्क बढेर ३३ प्रतिशत पुगेको छ । यो फेब्रुअरीयता पहिलो पटक ३० प्रतिशत नाघेको हो ।
– विशाल सम्झौता –
योमिउरीले समर्थन बढ्नुमा अमेरिकासँग हालै भएको व्यापार सम्झौता र चामलको मूल्य नियन्त्रण गर्न सरकारको प्रयासलाई कारण मानेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरका थिए । सम्झौताअनुसार अमेरिकाले कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएको छ भने कारमा लगाइएको कर पनि समान दरमा झारिएको छ ।
मतदातामध्ये अमेरिकी व्यापार वार्तामा इशिबाको भूमिकालाई समर्थन गर्नेहरू २९ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेका छन् । साथै, ८६ प्रतिशत उत्तरदाताले धान उत्पादन बढाउने सरकारको निर्णयलाई अनुमोदन गरेका छन् ।
गत वर्षको ‘मेगाक्वेक’ चेतावनीपछिको आत्तिएको खरिद र सन् २०२३ को गर्मीका कारण आपूर्ति समस्याले चामलको मूल्य आकासिएको थियो । यसलाई नियन्त्रण गर्न इशिबाले लोकप्रिय नेता तथा सम्भावित चुनौतीकर्ता ४४ वर्षीय शिन्जिरो कोइजुमीलाई नयाँ कृषिमन्त्री नियुक्त गरका छन् । साथै, सरकारले आपत्कालीन भण्डार बजारमा ल्याएर मूल्य घटाउने प्रयास पनि गरेको छ ।
मिडिया रिपोर्टअनुसार एलडिपीले चुनावको समीक्षा गर्ने र त्यसपछि पार्टी नेतृत्व चुनाव गर्ने वा नगर्ने निर्णय लिने योजना बनाएको छ ।
अठसठ्ठी वर्षीय इशिबाले हालै एलडिपीको पूर्ण बैठकमा केही सांसदहरूले राजीनामा मागेपछि भनेका थिए, “म अनुसन्धानको नतिजालाई उचित रूपमा विचार गर्नेछु । विभिन्न कुरा एकैसाथ भइरहेका भएकाले म आफ्नो सोचलाई अझ गहिरो बनाउन चाहन्छु ।”
नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टीडजका राजनीति विज्ञ मिकिताका मासुयामाका अनुसार, “एलडिपीभित्र पार्टी नेतृत्व चुनाव गराउने जोश क्रमशः घट्दै गएको छ । यदि अहिले नेतृत्व परिवर्तनमा जोड दिइयो भने, दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित मुद्रास्फीति जस्ता समस्याको समाधान नगरी केवल आन्तरिक राजनीति गर्ने भन्दै एलडिपीले आलोचना भोग्न सक्छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट