`

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

Nepal One HD ११ भदौ २०८२ १६:५४
समाचार

बैतडी। जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी थालिएको छ । लालपुर्जा वितरण गर्ने लक्ष्यअनुसार भूमी समस्या समाधान आयोग जिल्ला समितिले कार्ययोजना बनाएर सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो ।

समितिको बैठकले अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्नुका साथै कार्यसम्पादन सम्झौता गरिसकिएको भूमी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष रमेशदत्त पाण्डेयले बताए ।

समितिले आगामी माघसम्म गर्न सकिने कामको कार्ययोजना बनाएर सोहीअनुसार जिम्मेवारी बाँडफाँड गरिएको जिल्लास्थित नापी कार्यालयका प्रमुख एवं सदस्यसचिव रणबहादुर रावलले जानकारी दिए ।

जिल्लामा रहेका अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित समितिले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताए । स्थानीय तहहरूमा समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन, स्थानीय तहसँग समन्वय र सहकार्य गर्न अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी तोकिएको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेयका अनुसार पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा अध्यक्षको समन्वयमा समितिको तर्फबाट काम हुनेछ । पुर्चौँडी नगरपालिका र सिँगास गाउँपालिकामा समिति सदस्य जगदीश नायकलाई जिम्मेवारी दिइएको छ भने दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा समिति सदस्य जानकी अवस्थीलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए ।

पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा समिति सदस्य सरस्वती जोशीलाई जिम्मेवारी दिइएको छ । जिल्लाका १० वटै स्थानीय तहमा रहेका भूमिहीनको लगत सङ्कलन गरिसक्ने, आगामी असोजमा प्रमाणीकरण गरिसक्ने, कार्तिकमा जग्गा छनोट तथा नापजाँच गरिसक्ने, मङ्सिरमा श्रेष्ताको तयारी सक्ने र माघमा पुर्जा तयार गरी हस्तान्तरण गर्ने कार्ययोजना बनाइएको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म दुई हजार ३९१ जनाको निवेदन परेको छ । आयोगले आगामी असोज २ गतेसम्म अन्तिम पटकका लागि आवेदन आह्वान गरेको भूमी समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *