एमाले विधान महाधिवेशन आजदेखि : के–के छन् तीन दिनका कार्यक्रम ?


काठमाडौं । सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (बाट सुरु हुदैछ । २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्नेछन् ।
महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधी र आयोजकका हैसियतमा ३१५ जना गरी २,३४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरु काठमाडौं आइपुगिसकेका छन् ।
महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ ।
गौतमका अनुसार उद्ध्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ । प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् ।
प्रतिनिधिहरु चार वटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्ना साथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्व प्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्वीर छन् । यसैगरी कार्लमार्क्स , फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्वीरहरु राखिएका छन् ।
करिब १२ मिनेटमा उद्ध्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ ।
त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यस्तै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ । साँझ पाँच बजे आजका कार्यसुची सकिने गौतमले बताए ।
मञ्च व्यवस्थापन समिती संयोजक एवं पार्टी पोलिटव्यूरो सदस्य बिनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जातजाति र समुदायका झाँकीहरु प्रस्तुत गरिनेछ । उक्त दृष्य हलभित्रका प्रतिनिधिहरुले डिजिटल बोर्डमार्फत हेर्नेछन् ।
भोलि प्रतिवेदनहरुमाथि नौ वटा समुहमा छलफल हुने र पर्सी समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतीसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ । एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।