`

माइतीघरमा आज ‘जेन जी’ को प्रदर्शन : सुरक्षा व्यवस्था कडा

Nepal One HD २३ भदौ २०८२ ७:३१
समाचार

काठमाडौँ । जेनजी पुस्ताले आज (सोमबार) काठमाडौँमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए । ‘हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ । कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं । त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,’ उनले भने । यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउन समेत सकिने उनले बताए ।

विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। गएको चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर केही दिनअघि थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । सुरुमा प्रदर्शनमा सहभागी हुने बताएका प्रसाईलाई जेनजीले ‘निषेध’ को झण्डा देखाउने बताएपछि उनी पछि हटिसकेका छन् ।

प्रशासनले घुसपैठ हुन सक्ने आंकलन गर्दै आयोजकहरुलाई सजक हुन आग्रह गरेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् । ‘हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो । बिहान ९ बजेतिर भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी छ,’ जेनजीका एक युवाले भने, ‘यसको आयोजक यही हो भनेर छैन । यसमा सानो सानो समूह समूहमा साथीहरू भेला हुनु भएको छ ।’ प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *