`

माइतीघरबाट जेनजीको प्रदर्शन सुरु

Nepal One HD २३ भदौ २०८२ ९:५१
प्रमुख खबर

काठमाडौं । काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ । आज (सोमबार) माइतीघरमा भेला भएका जेनजीले प्रदर्शन सुरू गरेका हुन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेण्डा बनाएका छन् । प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए ।

माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ । प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन् । प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए । काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको हो । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो ।

सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनका अनुसार ‘हामी नेपाल’ नामक संस्थाले प्रदर्शनका लागि अनुमति लिएको छ । संस्थाका अध्यक्ष सुदन गुरुङका अनुसार पछिल्लो समय सरकारले चालेको कदम र भ्रष्टाचारविरुद्ध यो प्रदर्शन गरिएको हो ।

उनका अनुसार काठमाडौंसँगै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । उनीहरूले प्रदर्शन कहाँबाट सुरु गर्ने, कसरी सुरक्षित हुनेलगायतका टिप्सहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिरहेका छन् । विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन पनि संस्थाले आह्वान गरेको छ । उनीहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *