पोखरा र विराटनगरमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)


काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी (युवापुस्ता) ले आज पोखरा र विराटनगरमा पनि प्रदर्शन गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेनजीले प्रदर्शन गरेका छन् । पोखरा सभागृह अगाडि जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गरेका हुन् । भ्रष्टाचार विरोधी नारा लेखिएको प्लाकार्ड लिएर उनीहरूले नाराबाजी पनि गरेका छन् ।
विभिन्न कलेज र स्कुलका विधार्थी पनि प्रदर्शनमा सहभागी छन् । सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको जेनजीको प्रदर्शनमा आएकाहरूले बताएका छन् । देश विदेशमा रहेका आफन्तसँग कुराकानी गर्नसमेत नपाएको भन्दै उनीहरुले नेताहरूले भ्रष्टाचार ढाकछोप गर्न सामाजिक सञ्जाल बन्द गराएको आरोप लगाएका छन् । भ्रष्टाचारविरूद्ध अब नयाँ पुस्ता आन्दोलनमा आउनुको विकल्प नभएको उनीहरूले बताएका छन् ।
यस्तै कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक पढ्दै आएका विद्यार्थी जमसेद जेके रोजले देश भ्रष्टाचारले थिलोथिलो भएको बताए ।
‘हामी विद्यार्थी यो देखेर आजित छौं । हरेक युवा विदेश सोचिरहेको छ। विराटनगरमा सडक हेर्नुस्, बेथिति हेर्नुस् सबै हेर्दा रगत उम्लिन्छ । हामी यो असन्तोष सामाजिक सन्जालमा पोख्थिम । हाम्रो आवाज रोकिन्न । हामी देशप्रेमी हौं । जस्तोसुकै बलिदान गर्न तयार छौं तर अब यी नेताहरूको मनपरि सहन्नौं,’ उनले भने । काठमाडौं र पोखरामा पनि जेनजीले आज प्रदर्शन गरेका छन् ।