जेनजीको आवाजप्रति गम्भीर बन, अत्यधिक बल प्रयोग नगर : मानवअधिकार आयोग


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजीको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शनका क्रममा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
प्रदर्शनको आयोगले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ,’ आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ । काठमाडौंको माइतीघरबाट सुरू भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसदभवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगको भनाइ छ ।
प्रहरीको गोली लागेर दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौं व्यक्तिहरू घाइते भएको जानकारी प्राप्त भएको आयोगको भनाइ छ । ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नु पर्दछ । यस प्रकारका प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगका सहसचिवसमेत रहेका प्रवक्ता टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस प्रकारका प्रदर्शन पूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोगले आग्रह गरेको छ ।