इटहरीमा पनि दुई आन्दोलनकारीको गयो ज्यान


सुनसरी । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा पनि दुई जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
‘धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको भन्ने खबर आएको छ,’ डिएसपी योगराज खतिवडाले भने, ‘घाइते चार जनाको भने उपचार भइरहेको छ ।’ घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका थिए । त्यही क्रममा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी उपमहानगर क्षेत्रभरि कर्फ्यू लगाएका हुन् ।
उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलन चोकदेखि जुट विकास भित्र ,दक्षिणमा अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कंलकी मोडदेखि जनता बस्ती भित्रसम्म कर्फ्यू लगाइएको हो ।