रास्वपा सांसद असीम साहले दिए राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असीम साहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । ‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् ।
‘जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन् ।
उनले भनेका छन्, ‘मैले पटक–पटक सदनमा युवाको आवाज बोलें, चेतावनी दिएँ– सडक विद्रोह हुनसक्छ, यदि युवाको भावना बुझिएन भने । तर सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।’ संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो भन्ने प्रश्न गर्दै उनले भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको बताएका छन् ।
‘संसदमा बसेर चुप लाग्नु या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ,’ उनले लेखेका छन् । ‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसद्मा बसिरहनु मेरो लागि अब सम्भव रहेन,’ उनले भनेका छन् । अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ ।