`

पाकिस्तानमा बाढी : मध्य पञ्जाबबाट १ लाख २० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

Nepal One HD २४ भदौ २०८२ १७:२४
विश्व

सेनाद्वारा समर्थित उद्धारकर्ताहरूले मध्य पाकिस्तानी सहरबाट रातारात करिब एक लाख मानिसलाई बाहिर निकालेका छन् । बाढीको पानीले घर डुबाएर खेतीयोग्य जमिन बगाएपछि धेरैलाई पाल र खुला क्षेत्रमा भीषण गर्मी सहन बाध्य भएको बताइएको छ ।

पञ्जाब विपद् व्यवस्थापन समितिका महानिर्देशक इरफान अली काठियाका अनुसार विगत २४ घण्टामा जलालपुर पिरवालाबाट मात्रै एक लाख २२ हजारभन्दा बढी विस्थापित भएका छन् । केही आफन्तसँग आश्रय लिएका छन् भने अरू राहत शिविरमा बसिरहेका छन् ।

तर बाढीग्रस्त जिल्लाहरूका अधिकांश पीडितले सहयोग ढिलो वा न्यून मात्रामा आएको गुनासो गरेका छन् । सरकारले भने उद्धार र राहत कार्य सँगसँगै चलिरहेको र दैनिक आवश्यक सामग्री पठाइनेमा जोड दिएको छ ।

हप्तौँदेखि जारी भारी वर्षा, आरी घोप्टे वर्षा र भारतको बाँधबाट छोडिएको पानीका कारण गत महिनादेखि पञ्जाबमा मात्रै २२ लाख मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ ।

मुल्तान अझै बाढीको जोखिममा रहेको र नदीको सतह बढिरहेको काठियाले बताए । सहरहरूलाई सुरक्षित राख्न ग्रामीण क्षेत्रमा नियन्त्रित रूपमा तटबन्ध फुटाइने तयारी भइरहेको उहाँले जानकारी दिए ।

“समयमै निकासी गरेर धेरैको ज्यान बचाउन सफल भयौँ, तर कतिपयले पानी गाउँमा नपुगुन्जेल जान अस्वीकार गरे”, उनले भने । बाँकीलाई पत्ता लगाउन थर्मल इमेजिङ ड्रोन प्रयोग गरिएको बताइएको छ ।

४५ वर्षीया जारिनी बीबी आफ्ना बच्चाहरूसहित डुङ्गामा गाउँ छाडेर भाग्न बाध्य भए । “मैले यस बाढीमा प्रलय देखेँ”, उनले भने, “मेरो सपना र मेरो घर अब पानीमुनि छ । हामीसँग केही बाँकी छैन ।” अहिले उनी राहत शिविरमा थोरै खाना र भीषण गर्मीसँग सङ्घर्ष गरिरहेका छन् ।

अर्का विस्थापित तारिक उल्लाहले आफन्तले आश्रय दिन अस्वीकार गरेपछि सडक किनारको पालमा बस्नुपरेको बताए । “भगवान्लाई धन्यवाद, हाम्रो जीवन बच्यो । घर फेरि बनाउन सकिन्छ तर जीवन एकपटक मात्र पाइन्छ”, उनले भने ।

अगस्ट २३ यता पञ्जाबका २६ जिल्लाका तीन हजार नौ सय गाउँ डुबानमा परेको बताइएको छ । यसैबीच, भारतले खतराको निशानामाथि पुगेको नदीको तथ्याङ्क पाकिस्तानसँग साझा गरेको छ, जसले सीमावर्ती क्षेत्रमा थप बाढीको जोखिम बढाएको छ ।

जुनको अन्त्यदेखि पाकिस्तानी मनसुनी बाढीले नौ सयभन्दा बढीको ज्यान लिएको छ । हाल करिब ८० हजार मानिस पञ्जाबभर राहत शिविरमा छन् भने दक्षिणी सिन्ध प्रान्तमा पनि एक लाखभन्दा बढीलाई निकासी गरिएको छ । सन् २०२२ को विनाशकारी बाढीमा सिन्ध सबैभन्दा प्रभावित बनेको थियो । उक्त बाढीमा एक हजार सात सय ३९ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *