भोटेकोशी बाढीमा बेपत्ताको खोजी तीव्र पार्न ओलीको सरकारलाई आग्रह
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धारलाई थप तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बाढी आएको १३औँ दिन शोक वक्तव्य जारी गर्दै ओलीले अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो देशलाई स्तब्ध बनाएको बताएका छन् । उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
अझै सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै ओलीले खोजी, उद्धारसँगै राहत र पुनःस्थापनाको काममा थप गति दिनुपर्ने बताएका छन् ।
विपद्को कठिन अवस्थामा अहोरात्र खटिएका सुरक्षा निकाय, स्वयंसेवक, सामाजिक संघसंस्था, प्रदेश तथा स्थानीय सरकार र अन्तर्राष्ट्रिय समुदायप्रति उनले धन्यवाद दिएका छन् ।
विशेषगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै एमालेका स्वयंसेवकले बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा पुर्याएको योगदानको ओलीले प्रशंसा गरेका छन् ।
भोटेकोशी बाढीपछि लामो समय बितिसक्दा पनि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको भन्दै उनले प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
