के छ आगो लगाइएका सिंहदरबार र अदालतका ‘डिजिटल डाटा’ र ‘ब्याकअप’ को अवस्था ?


काठमाडौं । जेनजी आन्दोलनकारीले मंगलबार देशको मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचना पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । मुलुकको प्रमुख प्रशासनिक भवनमा गरिएको आगजनीपछि देश–विदेशका नेपालीहरुले देशका महत्वपूर्ण तथ्याङ्क ‘डाटा’ सुरक्षाका विषयमा चिन्ता प्रकट गरेका थिए ।
आन्दोलनका क्रममा भएको आगजनीमा सरकारी भवनहरु पूर्णरुपमा ध्वस्त भए पनि त्यहाँभित्र रहेका विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्याङ्क (डाटा) मा भने खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले जानकारी दिएका छन् ।
आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको भट्टराईले जानकारी दिए । कतिपयले हेटौंडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै भट्टराईले यी सबै अफवाह मात्रै भएको बताए ।
आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलबारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताएका छन् । यद्यपि सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको उनले बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आ–आफ्नै डाटा सेन्टर सञ्चालन गरेका छन् । तर, तिनले पनि आईडीएमसीअन्तर्गत डीआरमा व्याकअप राखेका कारण कुनै क्षति भएको भए रिकभर हुने भट्टराई बताउँछन् ।
अत्यधिक क्षति भएको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरका लागि ताकेता गरेको छ । भट्टराईले बताएअनुसार पत्र पाएपछि हेटौँडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिन्छ । ‘अन्य डाटा सेन्टरमा क्षति पुगेको छ भने पनि हामीसँग प्रायको ब्याकअप हुन्छ’, उनले भने ।