जेनजी समूहमा सुशीला कार्कीको माग : दुर्गा प्रसाई हाम्रो ‘स्टेक होल्डर’ होइनन्


काठमाडौं । नेपाली सेनाको अगुवाइमा जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरिएको छ ।
यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई अभिभावकत्व लिन आग्रह गर्ने समझदारी बनेको हो । उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन् ।
यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल समक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीय ज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा चलिरहेको छ ।’
सेनाले पूर्व प्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ । बुधबार दिनभर जेनजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन आग्रह गरेका थिए ।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए ।
उनले संयोजक समेत तोकेर आउन आग्रह गरे । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो । त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । जेनजीका प्रतिनिधिले मेडिकल व्यवसायी दुर्गा प्रसाईं कुनै पनि हालतमा आफूहरुको ‘स्टेक होल्डर’ नभएको स्पष्ट पारेका थिए ।
डिस्कोर्डमा करिब १० हजारको संख्यामा भइरहेको छलफलमा जेनजीका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरुले भनेका छन्, ‘हाम्रो लागि कुनै पनि हालतमा दुर्गा प्रसाईं जस्ता व्यक्ति स्टेक होल्डर होइनन् ।’ छलफलमा राजतन्त्र कि गणतन्त्र भन्ने पनि बहस भयो । धेरैले राजतन्त्र स्वीकार नगर्ने बताएका छन् ।