`

राष्ट्र हितका लागि सरकारको नेतृत्व प्रस्ताव स्वीकार गरेकी छु : सुशीला कार्की

Nepal One HD २६ भदौ २०८२ ८:४६
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । आन्दोलनकारी जेनजी प्रतिनिधिको चाहनाअनुसार जंगी अड्डामा जारी वार्ता उनकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका बेला पूर्व प्रधानन्यायाधीश कार्कीले भारतीय टेलिभिजन च्यानल न्युज १८ लाई अन्तर्वार्ता दिँदै आफू त्यसका लागि तयार रहेको बताएकी हुन् ।

‘उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन् । मैले यसलाई स्वीकार गरेकी छु’, उनले भनेकी छन्। उनले आफू अन्तरिम सरकार प्रमुख भएपछि गर्ने कामका विषयमा पनि चर्चा गरेकी छन् ।

‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेनजीको परिवारलाई राहत दिनु हुनेछ । अहिले उहाँहरूको एउटा माग अर्थात् प्रधानमन्त्रीको राजीनाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ’, कार्कीले भनेकी छन्, ‘उनीहरूसँग मैले अन्तिम कुरा गरेको छैन । हिजो प्रस्ताव गरेका थिए, मैले स्वीकारें । पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि म ठुलो आर्थिक सुधार ल्याउँछु । मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो । अहिलेको अवस्थामा ध्वस्त भएको भवनलाई केही निर्माण गर्न सकिन्छ । तर, निष्पक्ष निर्वाचन होस् भन्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो ।’

पूर्व प्रधानन्यायाधीश कार्कीले निर्वाचनका विषयमा पनि चर्चा गरेकी छन् । ‘नयाँ चुनावमा के नयाँ पुस्ता वा युवा आउँछन्, किनकि आन्दोलन त युवा पुस्ता आउनु पर्‍यो भनेर भएको हो नि । हामी कसैलाई चुनाव नलड् भनेर त भन्न सक्दैनौं । कोही पार्टीगत रूपमा आउलान्, कोही स्वतन्त्र रूपमा आउँलान् । यो त उनीहरूको रोजाइ हो । कोही नयाँ पार्टी गठन गरेर चुनावमा आऊन् वा कुनै पुरानो दल आएर त्यो गर्छन् भने पनि ठिकै छ’, उनले भनेकी छन् ।

उनले चुनाव गराउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी छन् । ‘चुनाव गर्न त समय लाग्ला । ६ महिना लाग्ला, एक वर्ष लाग्ला । तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौं । म कार्यकारी व्यक्ति होइन, म जज हुँ । मलाई राजनीतिमा रहेर केही गर्नु छैन’, उनले भनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *