`

स्थानीय तहले भने–जनप्रतिनिधिहरुलाई राजीनामा दिन धम्की आइरहेको छ

Nepal One HD २६ भदौ २०८२ १८:३९
राजनीति

काठमाडौं । सरकारी र निजी सम्पत्तिमा क्षति गर्दै जनप्रतिनिधिलाई राजीनामाका लागि ज्ञात अज्ञात समूहहरूबाट धम्की आएको भन्दै स्थानीय तहहरूले निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति र सुरक्षा नियकाहरू समक्ष यस्तो माग गरेका हुन् ।

‘स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पुर्‍याउने साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भैरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

जेन–जीको आन्दोलनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिताजस्ता मागमा समर्थन जनाउँदै ती नै संगठनले आन्दोलनको आडमा भएका अवाञ्छित घुसपैठका कारण आगजनी र तोडफोडका घटनाको भने भर्त्सना गरेका छन् ।

‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्योलता अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधिप्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन सम्माननीय राष्ट्रपति ज्यूसमक्ष हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विज्ञप्ती


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *