सडक विभाग ललितपुर सारिँदै, के छ ‘डेटा’ को अवस्था ?


काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मंगलबार बबरमहलस्थित सडक विभागमा आगलागी भएपछि ललितपुरको चाकुपाटबाट काम कारबाही अघि बढाउने गरी तयारी भएको छ । बबरमहलमा रहेको विभागबाट नियमित काम कारबाही गर्न भने नमिल्ने भएपछि चाकुपाट सार्न लागिएको हो ।
आगलागीबाट भवन र भित्रका संरचना ध्वस्त भएको विभागले जनाएको छ । २०७२ सालको भूकम्पअघि विभाग बरबमहलमै थियो । भूकम्पले क्षति गरेपछि विभाग ललितपुरको चाकुपाट सारिएको थियो । पछि ‘रेक्ट्रो फिट’ गरी भवन तयार पारेर दुई वर्षअघि पुनः चाकुपाटबाट बबरमहलमै विभाग सारिएको थियो । यति बेला आगलागीबाट भवनमा क्षति पुगेकाले पुनः चाकुपाट नै सार्ने तयारी गरिएको विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
१२० वर्ष पुरानो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ । बबरमहलमा ३०० कोठा थिए । चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठाउँको नाम बबरमहल राखिएको थियो । ‘अहिले विभाग भएको भवन मर्मत सम्भार गरेर पनि चलाउन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘भवन ध्वस्त बनेको छ, पहिला जस्तो मर्मत गरेर चल्ने अवस्था छैन ।’ बबरमहलको भवनभित्र ५ वटा महाशाखा र हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका कार्यालय थिए । अब सबै कार्यालय अन्यत्र सार्नुपर्ने भएको छ ।
पहिला सडक विभाग रहेको चाकुपाटमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको कार्यालय छ । यही कार्यालय र यसैको आडमा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा विभाग सार्ने योजनामा रहेको महानिर्देशक जैसीले बताए । पहिला धेरैजसो आयोजना कार्यालय भाडाका घरबाट सञ्चालन गरिएको थियो । ‘अहिले भइरहेको ठाउँबाट विभाग र मातहतका आयोजना कार्यालय अटाउन मुस्किल छ । तैपनि दुःखसुख ६ महिना चलाउने सोचमा छौं,’ उनले भने, ‘६ महिनापछि मीनभवनमा निर्माण भइरहेको नयाँ भवनमा सर्छौं, त्यहीँबाट काम कारबाही अघि बढाउँछौं ।’ उक्त भवनको निर्माण अन्तिम चरणमा रहेको जैसीले बताए ।