भोलि मन्त्रिपरिषद विस्तारको तयारी, छलफलमा प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् । पूर्व प्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । आज दिनभर मन्त्रिमण्डल बिस्तारको तयारी गर्ने स्रोतले जानकारी दिएको छ ।
त्यसबारे हिजो शीतल निवासमा समेत हल्का सल्लाह भएको बताइन्छ । प्रधानमन्त्रीको टिमले मन्त्रीहरूको नामबारे पहिले छलफल गर्ने र त्यसमा सेनाले कुनै हस्तक्षेप नगर्ने वचन प्रधान सेनापति अशोकराज सिग्देलले दिएका छन् । प्रधानमन्त्रीको शपथ सकेर जङ्गी अड्डा फर्किएका उनले त्यहाँ प्रतीक्षारत जर्नेल (पृन्सिपल स्टाफ अफिसर्स) हरुलाई मन्त्री चयनमा आफूहरुको कुनै हस्तक्षेप नरहने जानकारी दिएको स्रोतको भनाइ छ ।
सिग्देलको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘सेनाले मन्त्रिमण्डल गठनवारे मागिएमा सुझावसम्म दिने हो । नाम सिफारिस गर्ने होइन । सल्लाह गर्ने हो, हस्तक्षेप गर्ने होइन ।’ सोही सन्दर्भमा नवनियुक्त प्रधानमन्त्रीले आज जेन जी समूहसँग बालुवाटारमा भेटेर कुराकानी गरेकी छन् । आजको भेटघाटमा हामी नेपालका सुदन गुरुङबाहेक अरु एक दर्जन सहभागी थिए ।