‘हामी नेपाल’ संस्थासँग बारबरा फाउन्डेसनको अहिले सम्बन्ध छैन : डा. सन्दुक रुइत


काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनसँग आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । फाउन्डेसनले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा ‘हामी नेपाल’ नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो।
कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले स्पष्ट पारेको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनसायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।
उनले गत एक वर्षदेखि ‘हामी नेपाल’ नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारेका छन् । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको पनि उनले बताएका छन् । पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब सात करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ । सामाजिक सञ्जालहरुमा डा. रुइत हामी नेपाल संस्थाका सल्लाहकार भन्दै प्रचार भएको थियो ।