`

सुदन गुरुङ समूहद्वारा मध्यराति प्रधानमन्त्रीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

Nepal One HD ३० भदौ २०८२ ८:१८
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका हुन् । जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी प्रदर्शनमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । सुदनले प्रधानमन्त्रीले कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेको निर्णयप्रति विशेष आपत्ति जनाएका छन् ।

गत शुक्रबार सुदन समूहकै प्रस्तावमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । उनले आइतबार ओमप्रकाश अर्याललाई गृहमन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् । सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

शहीद परिवारले प्रधानमन्त्री भेट्न नपाएपछि मध्यरात बालुवाटारमै धर्ना
जेनजी आन्दोलनका शहीद परिवारले आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धताबमोजिम आफूहरुको माग पूरा नगरेको र दिनभर कुराएर भेट नदिइ बालुवाटारबाट निकालेको भन्दै आक्रोशित उनीहरुले प्रम निवासको गेटमा राति धर्ना दिएका हुन् ।

आफूहरुलाई वेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको उनीहरुको आरोप छ । धर्नामा जेनजी समूहको नेतृत्व गरिरहेका सुधन गुरुङ आफ्नो टिमसहित पुगेका थिए । उनले शहीद परिवारको कुरा बालुवाटारभित्र पुर्‍याउने प्रयास गरे पनि सम्भव भएन ।

शहीद परिवारका सदस्यले पाँच माग अघि सारेका छन् । मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्ने, उनीहरुको राजकीय अन्त्येष्टि र शव यात्रा गर्नुपर्ने पहिलो माग छ । दोस्रोमा परिवारलाई उचित क्षतिपूर्तिका साथै रोजगार, बीमा, शिक्षाको प्रबन्ध गर्नुपर्ने । तेस्रो अब बन्ने विभिन्न समितिहरुमा शहीद परिवारको प्रतिनिधित्व हुनुपर्ने माग अघि सारेका छन् । चौथोमा विमानस्थलमा फोटोहरु राखेर शहीदप्रति सम्मान दिनुपर्ने र पाँचौ माग शालिकसहित एउटा शहीद पार्क बनाइदिनुपर्ने छ ।

प्रधानमन्त्री कार्कीले शनिबार शहीद परिवारसँगको भेटमा मागहरु सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको आमन्त्रणअनुसार ८ बजे नै बालुवाटार पुगेका शहीद परिवारले रातिसम्म पनि प्रधानमन्त्री भेट्न पाएनन्। राति १० बजेपछि सेनाले उनीहरुलाई बाहिर निकालेपछि आक्रोशित बनेका उनीहरुले गेटमा धर्ना दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *