तीन मन्त्रीले लिए शपथ : कसलाई कुन बरियता ?


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) सानो आकारको मन्त्रिमण्डल विस्तार गरेकी छन् । जेनजी समूहको सिफारिसबाट प्रधानमन्त्रीको कुर्सीमा पुगेकी कार्कीले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेकी हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा नयाँ मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेरका साथै बरियताक्रम पनि तोकिएको छ ।
मन्त्रिमण्डलको पहिलो बरियताक्रममा प्रधानमन्त्री कार्की छिन् । दोस्रो बरियतामा अर्थमन्त्री रामेश्वर खनाल छन् । ऊर्जामन्त्री कुलमान घिसिङ तेस्रो बरियतामा छन् । उनलाई ऊर्जासँगै जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै गृहमन्त्री ओमप्रकाश अर्याल तेस्रो बरियताक्रमा छन् । उनलाई कानुन तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ लिएका छन् । शपथ लगत्तै उनीहरू सिंहदरबार गएर पदभार सम्हाल्ने छन् ।
मन्त्रीहरूको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन् ।
जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको छ । योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ । आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल, अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी हुन् । अर्थमन्त्री खनाल पूर्व अर्थसचिव हुन् । गृहमन्त्री अर्याल कानुनविद् हुन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।यस्तै ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेको थियो । पछि उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको थियो ।