गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकबाट विभिन्न निर्णय


गण्डकी – गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनेलगायत विभिन्न निर्णय गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदासहित प्रदेशको सुुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकमा यही भदौ २३ र २४ गते मुलुकमा भएको आन्दोलनका कारण उत्पन्न असामान्य स्थिति र त्यसले शान्ति सुरक्षामा परेको प्रभावका सम्बन्धमा सबै सुरक्षा निकायबाट जानकारीसहित छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले आन्दोलनका क्रममा हुन गएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली र परिवार तथा आफन्तजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
आन्दोलनकारीले सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटेका हतियार हालसम्म फिर्ता नभएकाले फिर्ताका लागि सञ्चारमाध्यममार्फत आह्वान गर्ने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रूपमा कानुनबमोजिम कारबाही प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।
आन्दोलनका कारण उत्पन्न भएको असामान्य अवस्था क्रमशः सुधार हुँदै गइरहेकाले सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ–आफ्नो मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
यस्तै, शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढङ्गले कार्य गर्ने, गराउने निर्णय भएको छ । बदलिँदो परिस्थिति र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी स्थानीय नागरिक समाजसँगको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्ति सुरक्षालाई सामान्य बनाई राख्ने निर्णय भएको जनाइएको छ ।
वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउन आग्रह गरिएको छ । यस्तै, वर्तमान सन्दर्भलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने गराउने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।