धनगढीको एक प्रमुख सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने मेयर हमालको घोषणा


धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक प्रमुख सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने घोषणा गरेका छन्।
मेयर हमालले जेनजी आन्दोलनमा जीवन गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
जेनजी आन्दोलनमा शहीद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । उनले न्याय, अधिकार र परिवर्तनका लागि जीवन समर्पण गर्नेहरूको साहस सबैका लागि प्रेरणाको ज्योति बनेर चम्किरहने उल्लेख गरेका छन्।
मेयर हमालले भनेका छन् “जेन्जी आन्दोलनमा शहीद भएका वीर आत्माहरूको सम्मानमा यो महत्वपूर्ण कदम चालिएको हो। उनका अनुसार धनगढी–१ स्थित जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडकखण्ड जुन क्षेत्रमा उपमहानगरपालिकाद्वारा सञ्चालित महिला उद्यम बजार समेत छ , सो सडकलाई ‘जेन्जी मार्ग’ नाम दिन लागिएको हो।
उनले उक्त सडक क्षेत्रलाई जेनजी मार्ग भनेर सम्बोधन गर्न सम्पूर्ण नगरवासीमा अपिलसमेत गरेका छन् । धनगढी उपमहानगरपालिकाले यो निर्णय कार्यपालिका बैठकबाट पारित गरेपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।